भ्याक्कु र डम्फर
ठ्याक्कै उमेर त भुले, तर म सानै थिए। सायद
पाँच बर्ष जतिको थिए होला। मेरो उमेरका धेरै स्कुल जान थाले पनि म चाँहि हजुरबासँग
कखरा र बाह्रखरी घरमै सिक्थे। हजुरबा चक लिएर आँऊथे, अनि मलाई आँगनका डिलका
ढुङ्गामा लेख्न लगाँउथे। गाँउमा चाईनाका भयाक्कुले भकाभक पहरो चिरेर मोटरबाटो
खन्दै थिए। स्कुलको हाफ छुट्ठिमा दाईहरु उफ्रिदै चाईनाको चमत्कार हेर्न
पुगिहाल्थे। अनि साँझ बिहान घरमा भयाक्कुको माहाभारत बखान हुन थाल्थ्यो। आफुलाई त
बा ले स्कुलमा भर्ना नै गर्देका थिएनन्, कसरी जानु भयाक्कु हेर्न। मनमनै सोच्थे
भयाक्कु कस्तो होला। एकदिन बिदाको दिन दाईहरु चिटिक्क परेर भयाक्कु हेर्न हिँडे। आफु
बिचरो कट्टु त राम्रो सँग समाल्न नसक्ने के को जान पाउनु। कम्मरका अड्नै नमान्ने
कट्ठुलाई यसो हातले अड्याएर सुटुक्क दाईहरुको पछी लागेको, तर तगारो कट्न नपाउँदै
सान्दाईले सुँईको पाईहाले। ‘ओ कटुवाल, तँ काँ जान लागेको?’ पछाडी फर्केर बेस्करी
झपारे।
त्यसै त ठुला आँखा, त्यसमा पनि छल्किने गरी
नुनिलो पानि भरिए पछी त के चाहियो र। एउटा हात ढप्लक ढप्लक गालाबाट झरेका नुनिला
ढिक्का सुईटरको बाउलाले पुछ्दै, अर्को हात कट्टु तान्दै, सुक्क सुक्क गर्दै घर
फर्केँ, आँगनको डिलमा न्याउरो मुख लगाएर दाईहरु कति बेला आउलान् र भयाक्कुको
काहानी सुन्न पाईएला भनेर कुरेर बँसे। गाँउमा भयाक्कुले महिनौ बितायो तर आफ्नो
भयाक्कु हेर्ने सपना कहिल्यै पुरा भएन। राती आमासँग, आमा मलाई पनि भ्याक्कु हेर्न
लग्दिनु भनेर कचकच नगरेको पनि हैन। तर म उठ्न
भन्दा पहिलेनै आमा मेलामा गैसक्थिन्। घरमा आँबोई मात्र हुन्थिन, घरको कामले गर्दा
मेरो कचकच सुन्ने फुर्सदै हुन्थेन।
यस्तैमा ठुल्दाईलाई एक रात मोटरबाटो बनाउने सुर
चल्यो। त्यसपछी त दिन बिताउन के चहियो र! स्कुलमा साँतौ घन्टी बज्न नपाँऊदै
बुर्कुसी मारेर घर आईपुग्थे दाईहरु। हाम्रो घर भन्दा पश्चिममा थियो ठाडिचौरी। ठाडिचौरीको
छेऊमा बडेमान्को पिपलको रुख थियो, पिपलको रुख सँगै रातो माटोको ठुलो ढिस्को।
गाँउमा आईमाई घर पोत्ने रातो माटोको लागी यही ढिस्को कोपर्थे। हामी केटाकेटी भने दँसैको
पिङ्ग, शिबरात्रीको धुनि देखि लुकीडुम र भाडाकुटि जे खेल्न परे पनी ठाडिचौरी तिर दुगुर्थौ।
कहिले काँही त दाईहरु पल्लो टोलमा केटाहरुसँग फुटबल म्याच पनी खेल्थे त्यँही। त्यसैले
बाटो काँहा बनाउने भनेर सोच्चनै पर्थेन। उता गाँऊमा चाईनाले भकाभक पोखरा-बाग्लुङ
राजमार्ग बनाऊन थाल्यो, यता दाईहरु घर छेउको ठाडिचौरी कोपर्न थाले। केही दिन बित्न
नपाँउदै ठाडिचौरीको डिस्कोमा सिनित्त परेको नागबेली बाटो बन्यो। बाटो के बनेको
थियो फेरी ठुल्दाईको दिमाग मा अर्को मिसन फुर्यो। ‘केटा हो अब गाडी बनाएर चलाउनु
पर्छ’, ढिस्कोको फेदमा बसेर ठुल्दाई हामीलाई उकास्दै थिए।
म छेऊमा टुक्रुक्क उड्केरी मारेर ऊनीहरुको कुरा
सुन्थे। उभ्यो भने एउटा हातले कट्टु समात्दा समात्दै फुर्सद नै पाँऊथेन। त्यसैले म
जता पनि टुसुक्क बसी हाल्थे। ‘लौ अब भ्याक्कु
हेर्न पाईने भयो’, म त मनमनै मख्खै।
‘दाई भ्याक्कु बनाम् है’ मैले प्रस्ताव राखेँ।
‘बनाइस् भ्याक्कु’ ठुल्दाई बटारिए। दाईहरु पाङ्ग्रा
बनाउनको लागी ढ्याक बटुल्न खोलातिर जान लागे।
‘केटाकेटीलाई खेलामा भुतले छल्छ, तँ घर जा, अनि
आँबोईलाई केही नभन् है’ सान्दाई मलाई घर तिर धपाऊन खोज्थे।
म भने कुम ठोक्दै ‘नाई’ भन्थे।
ठुल्दाई नजिक आएर फकाए ‘घर गईस भने तँलाई गाडी
चलाउन दिन्छु नी’, मनले नमान्दा नमान्दै फेरी पनि आँगनको डिलमा न्याउरो मुख लगाएर
बस्नु पर्यो।
दाईहरुले खोलाबाट ल्याएका ढ्याकलाई गोला पारेर
कुद्थे, अनि ढ्याकको बिचमा अलिकती थुकेर भिजाऊथे र काँटीले टुक्क टुक्क बिस्तरै
ठोकेर प्वाल पार्थे। लौ दाईले त चिटिक्का पाङ्ग्रा बनाए। ऊता सान्दाई निगालोको
डन्डि काटेर ल्याए। दाईहरुले निगालो, पाङ्ग्रा र काँटी मिलाएर चिटिक्कको गाडि
बनाए। पाङ्ग्रा खुस्केलान भनेर पुरानो हात्ती छाप चप्पलको टुक्रा काटेर दुवै तिर
पेची कसे अनि हेर्दा हेर्दै ठाडिचौरीको राजमार्गमा दाईको गाडी कुद्यो। दिनभरी घरी
सान्दाई घरी ठुल्दाई पालैपालो गाडी कुदाई रहे। आफु भने जती कुँई कुँई गरेर पछी
लागे पनी दिनभरी गाडी छुन पाइन। साँझ घर फर्कने बेलामा मेरो रुन्चे थुतुनो देखेर
ठुल्दाईले एकै छिन डोर्य्याउन दिए। ‘लौ जा, गाडी छुन पाईयो’, मनमनै मख्ख पँरे।
त्यस पछिका दिनमा गाँऊमा पँहेला डम्फर,
पिटपिटे(माटो बोक्ने सानो ट्याक्टर) पनि आऊन थाले। मैले भयाक्कु त देख्न पाईन तर
डम्फर र पिटपिटे भने दाईहरुको पछी लागेर हेरेरै छोडे। पिटपिटे देखेपछी मेरो सातो
गयो त्यसैले म दाईहरुको पछी लाग्न छोडे।घरमा हुँदा दाईहरुको एउटै ध्याऊन्न
हुन्थ्यो: गाडी कसरी राम्रो बनाऊने। आफ्नो भने ध्यानै गाडी कति खेर छुन पाईन्छ
भन्नेमा हुन्थ्यो। दाईहरु कहिले राम्रा राम्रा पाङ्ग्रा थप्थे त कहिले ज्यामिति
बाक्स जोडेर डम्फर बनाऊथे कहिले ह्यन्डल थप्थे त कहिले बिचमा कालो पाईप राखेर
मज्जको चार पाङ्ग्रे बनाऊथे । म सँधैझै छेउमा टुसुक्क बसेर पुलुपुलु हेर्थे। ढ्याकका
पाङ्ग्रा बेलाबेलामा फुटि राख्ने भएकाले ठुल्दाईलाई निकै झिझो लागेको थियो। ऊनी निदार
खुम्च्याएर केही सोच्थे। ठुल्दाईको निदारमा तिहारको टिको जस्तो काटेको खत थियो।
आमा भन्थिन् दँसैको अष्टमीको दिन ढिकी जाँदा दाई पछी लाग्दै थिए रे, आँगनबाट खसेर
लडेछन, अनि त दाईको निदारबाट तिहारको टिको कहील्यै हटेन। फेरी यसरी निदार
खुम्च्याऊँदा दाईले अरु दुई चार ओटा खाल्डा पनि थप्थे। तर दाईले यसरी सोचे भने
केही न केही जुक्ती त निकाल्थे।
नभन्दै दाईले जगबको आईडिया निकाले। हामी सबै
डहर डहर थोत्रा हात्ति छाप चप्पल बटुल्न थाल्यौँ। यसपाली मलाई पनि सँगै काममा
लगाए। म भने दाईहरुसँग काम गर्न पाएकोमा मख्ख थिए। बिच बिचमा म ‘दाई मलाई नि गाडी
चलाउन देउ है’ भन्दै कन्याई रहन्थे। ‘चलाउलास् तनी, कति कचकच गर्छस के कटुवाल’
सान्दाईले गाली गरेरै भए पनी आश देखाए, ‘पहिले चप्पल त खोज’। म झन् कस्सिएर
खोज्थे। तर मैले एउट पनि फेला नपार्दे दाईहरुले चार पाँच ओटा बटुली सकेछन्। घरमा
अएर सान्दाईले चप्पलमा कम्पासले गोलो कोर्न थाले अनि ठुल्दाईले आँसीले मिलाएर गोलोमा
पारेर काटे। हेर्दा हेर्दे मेरा दाईको गाडी त कहिल्यै नफुट्ने पाङ्ग्राको गाडी
भयो। अनि ठुल्दाई कराए, ‘आयो गोरखकाली!!!, गोरखकली टायर बलियो गुड्छ सरर’। जहिले
पनि हजुरबाको रेडियोले शनिबार शनिबार यहि भन्थ्यो। दाईहरु पनि त्यहि भन्दै दौडन
थाले।
एकदिन आँबोईले ठाडिचौरी गएर बाख्राको लागी पिपलका
पात बटुल्न अह्रईन, दाईहरु स्कुल गएका थिए। मैले मौकामा चौका हान्ने बिचार गँरे। सुटुक्क
दाईहरु सुत्ने कोठीमा छिरेर खाटमुनिबाट गाडी झिँके, याति बेला सम्म त मेरा
दाईहरुको गाडी चार पाङ्ग्रे, ह्यन्डल सहितको माज्जाको ज्यामिति बाकसको डम्फर
भईसकेको थियो।
आँबोईले त्यो देखेर मलाई गाली गरीन्। ‘भरे
ठुल्दाई आएर भुकुर्छ अनि था पउलास्’।
बल्ल बल्ल मौका पाएको के को टेर्नु नि आँबोईलाई।
‘म यो डम्फरमा ल्याउछुके पात’ म ठुलो कुरा गर्न
थाले।
‘ल्याईस डम्फरमा, ल यो पानिखानि डोको लैजा’
आँबोईले डोको थमाइदिइन।
म डोको र गाडी घिसार्दै ठाडिचौरी तिर लागेँ।
‘तगारो सम्म छोड्न आउनु पर्छ ?’ आँबोईले
सोधिन्। तगारोको मुन्तिर ठुलो हाडेगुन्यूको झाय्ङ्ग थियो। घरका ठुलाबडा हामीलाई
त्यहाँ बाघ बस्छ भनेर डराउन दिन्थे। मलाई त्यो बाटो हिँड्दा पनी कता झाय्ङ्गबाट
फुत्त बाघ आउने हो भन्ने डरले मुटु ढुस्स फुलेर आउथ्यो। त्यसैले तगारो कटाउन कोहि
न कोहि आउनु पर्थ्यो। यसपालि त गाडी पाएको बघ साघ ले के को तर्साउन सक्थ्यो र!
‘पर्दैन, पर्देन’ म टिमुर्किएर हिँडे। त्यसपछी मेरो मुटुलाई कहिल्यै पनि हाडेगुन्यूको
झाय्ङ्गको बाघले फुलाउन सकेन।
एकै छिन पात बटुले जस्तो गँरे। अनि दिनभरि
मज्जाले नागबेली बाटोमा गाडि चलाए। दिनभरि भुर्र भुर्र र घ्याँ घ्याँ गर्दा मुखले
पनि राम्रै काम पायो। दाईहरु स्कुलबाट फर्कने बेला भैसकेको थियो। त्यसैले दुगुर्दै
घरतिर हान्निए। बाटामा एउटा चुच्चे ढुङ्गामा ठेस लागेर नराम्रोसँग पाछारिए। अगाडि
हुत्तिदाँ, हातबाट गाडि फुस्कियो, अनि मेरो हत्केलो लम्पसार परेको दर्सनढुङगामा
मज्जाले थेचारियो। धन्न चिउँडो र पुर्पुरो बच्यो। हत्केलो नराम्रो गरि झनियो अनि
दाहिने खुट्टाको बुढऔँलाको नङ् राम्रैसँग थेच्चियो। दुखाईले आँखाभरि आँसु भरियो,
अनि अगाडि को द्रश्य झल्याकझुलुक्क मात्र देँखे। पेट अमिलो भयो। यसो आँखा चिम्लेको
त भरररर आँसुका डिक्का खसे। पाखुराले गाला पुँछे, रुन मन लागेपनि गाडीको चिन्ता
रुन सकिन र उठेर गाडी खोज्न लाँगे। मेरी बास्सै! गाडी त दुईटा भएछ, ह्यन्डल
एकातिर, अरु एकातिर। त्यसपछी त के को आँसुमात्र नि ओठ तालु सबै सुक्यो। होस हवास
उडेपछी त के चहियो र दौडिदै दाईहरुको कोठिमा पुँगे। गाडी फुत्त खाटमुनि फ्याक्के। अनि
केहि नभएको जस्तो गरेर पिडीको गुन्द्रिमा सुतेजस्तो गरे।
केही बेरमा दाईहरु स्कुलबाट फर्के, सान्दाईले यसो
नुहुरिएर खाटमुनि के हेरेका थिए, मेरो हुर्मत लिई हाले।
‘ओई कटुवाल, तैले भाँचिछ् यो गाडी’। ल भाई परिस
फेला, मेरो मनमा त पहिरो चलिसकेको थियो तै पनि जसोतसो समालेर बोले। ‘मलाई के था नि
तिमीहरुको गाडी साडी’, म अझ गुन्द्रिमै खुट्टा हल्लाएर सुतेको नाटक गर्दै थिए,
कोठीबाट सान्दाई हुत्तिदै पिँडिमा निस्के। मेरो पखुरामा च्याप समातेर, जुरुक्क
उठाए।
‘अझ नाटक गर्छस’ भन्दै झक्ल्याक झुक्लुक पार्न
थाले। मेरो आँखाको बाँध टुट्न लागेको थियो ठुल्दाई आइपुगे।
‘छोड्दे छोड्दे यो पिन्चे हाँडीलाई’ ठुल्दाईले
सान्दाईलाई थामथाम थुमथुम पारे। ‘अबदेखि छोईस भने तलाई जानेको छू’ भन्दै उल्टै एक
थप्पड पो लगाईहाले। थप्पड पनि राम्रै बर्सेछ, तल देखिनै सिरिङ्ग भएर आयो। अनि त
त्यो बाँध फुटाउन के चाहियो र!
‘त्यस्सै मलाई दोष लगाऊछ’ भुईमा खुट्टा बजार्दै
ह्वावावावा गरेर मज्जाले रोईदिए। अगिको चोटको पिडा अझ निको भएको थिएन, त्यै माथी
गाला पनि रातो, मेरो डाँको घर हल्लाउन पुगीहाल्यो।
‘हैन फेरी किन नारिएको यिनीहरु’ आँबोई च्यँठिदै
भित्रबाट आईपुगिन। ‘तँलाई नछो भनेको हैन यिनिहरुको खप्पर, खाईस नि कुटाई’ आँबोईले
एकैछिन दाईहरुलाई गालि गरिन् अनि म तिर फर्केर ‘तँलाई सानो गुजी भएर ठुलो गुजीसँग
नचल भनेको मान्दैनस्, हिँड् भित्र’ भन्दै भान्सा तिर लागिन्।
दाईहरु भुटभुटिदै गाडी जोड्न थाले। म भने
हुँक्क हुँक्क गर्दै लुरुलुरु आँबोईको पछि लाँगे।
त्यो दिन देखि मैले दाईहरुको गाडी झुक्किएर नि
छुन पाईन। आँफै गाडी बनाउन पनि निकै कस्सिए। खोलासम्म ढ्याक लिन जानि आँट त थिएन
त्यसैले घरमुनिको बान्नोका छपनी कुद्न थाले। बान्नाका छपनि ठस्का हुँदा रैँछन, एक
चोट हान्योकी प्याट्ट फुट्ने। धेरै छपनि फुटे, धेरै पटक औँलो थिँचे तर पाङ्ग्रो
बनेन। बाटोमा भेटेको हात्तिछाप चप्पल लिएर धेरैदिन दाईहरुको पछी लाँगे तर उनिहरुको
रिस मरेकै थिएन। साह्रै भएपछी एक दिन आँबोई सान्दाईलाई भनेर पाङ्ग्रा बनाईदिईन्। एउटा
सुकेको निगालोमा यसो तसो काँटी ठोकेर गाडी बनाए।
धत् पेचकस त राख्नै भुलेछु। यसो चार पाईला
हिँड्यो पाङ्ग्रा फुत्त निस्कि हाल्ने। एउटा हातले पाङ्ग्रा सज्दै अर्को हातले
हेन्डल बिनाको गाडी धकेल्दै ‘आयो गोरखकाली!!!’ भन्दै गमक्क परेर हिँड्न थाले।
1 comment
fantastic ...
Post a Comment